ललितपुर, पुस २१ —
पशु तथा पन्छीपालन क्षेत्रमा अत्यावश्यक सेवा दिँदै आएको पशु सेवा कार्यालय, ललितपुरलाई स्थानान्तरण गर्ने सरकारी तयारीप्रति सरोकारवाला संघ–संस्थाहरूले कडा आपत्ति जनाएका छन्।
लगनखेलस्थित कार्यालयले विगत करिब सात दशकदेखि पशुपन्छी उपचार, रोग परीक्षण, कृत्रिम गर्भाधान, प्रजनन सेवा, तालिम तथा व्यवसाय प्रवर्द्धनमा निरन्तर योगदान दिँदै आएको छ। हाल प्रदेश सरकारअन्तर्गत सञ्चालनमा रहेको यस कार्यालयले काठमाडौं उपत्यकाका तीनै जिल्लाका कृषकलाई सेवा प्रदान गर्दै आएको छ।
सरोकारवालाहरूका अनुसार कार्यालयको कार्यक्षेत्रमा ९३,२२८, भैँसी १,०८,८००, बाख्रा १,५१,००१, भेडा ५,२६४, बंगुर २९,९१४, कुखुरा २२ लाखभन्दा बढी र हाँस २३,९६९ भन्दा बढी रहेको तथ्यांक छ। यी पशुपन्छीबाट वार्षिक रूपमा १ लाख मेट्रिक टनभन्दा बढी दूध, २३ हजार मेट्रिक टनभन्दा बढी मासु र १७ करोडभन्दा बढी अण्डा उत्पादन हुँदै आएको छ। यस क्षेत्रसँग प्रत्यक्ष–अप्रत्यक्ष रूपमा दुई लाखभन्दा बढी कृषक परिवार जोडिएका छन्।
यसअघि पनि कार्यालयको जग्गामा जिल्ला अदालत स्थापना गरिएको स्मरण गराउँदै, पुनः बाँकी संरचना अन्य निकायलाई दिने तयारी भइरहेको सूचनाप्रति उनीहरूले गम्भीर आपत्ति जनाएका हुन्। ललितपुर उपत्यकाकै महत्वपूर्ण पशुपन्छी उत्पादन क्षेत्र भएकाले यहाँ पशु सेवा कार्यालय झन् आवश्यक रहेको उनीहरूको भनाइ छ।
संयुक्त विज्ञप्तिमार्फत सरोकारवालाहरूले कृषकको हितविपरीत निर्णय अघि बढाइए कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन्। उनीहरूले प्रदेश र संघीय सरकारलाई निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्।
विज्ञप्तिमा नेपाल ह्याचरी उद्योग संघ, डेरी तथा दुग्ध सहकारी, बाख्रापालक, बंगुर व्यवसायी लगायत विभिन्न राष्ट्रिय संघ–संस्थाका पदाधिकारीहरूको हस्ताक्षर रहेको छ।
