जुम्ला — हिमाली जिल्लाको चिसो हावापानी अहिले किसानका लागि अवसरमा रूपान्तरण हुँदै गएको छ। पछिल्लो समय यहाँका किसानहरू माछा पालनतर्फ आकर्षित हुँदै आत्मनिर्भर बन्ने दिशामा अघि बढिरहेका छन्।
चन्दननाथ नगरपालिका–९ का देवन्द्रराज गिरी र वडा नं. ६ का दिलक रावलले करिब ६ वर्षअघि सुरु गरेको रेन्बो ट्राउट माछा पालन आज प्रेरणादायी उदाहरण बनेको छ। प्रारम्भिक चरणमा प्राविधिक ज्ञान अभावका कारण असफलता भोगे पनि निरन्तर अध्ययन र अनुभवले उनीहरूलाई व्यवसायमा टिकाइराखेको छ।
२०७७ सालमा नुवाकोटबाट भुरा ल्याएर सुरु गरिएको यो व्यवसाय अहिले विस्तार हुँदै गएको छ। हालसम्म उनीहरूले ९० हजारभन्दा बढी भुरा पोखरीमा राखिसकेका छन्। बजारमा उच्च माग हुँदाहुँदै पनि उत्पादन परीक्षणकै चरणमा रहेकाले आम्दानी अझै अपेक्षाअनुसार नभएको उनीहरू बताउँछन्।
जुम्लाको चिसो, सफा र बग्ने पानी ट्राउट माछा पालनका लागि अत्यन्त उपयुक्त मानिन्छ। यही प्राकृतिक अनुकूलताले यहाँका किसानलाई यस क्षेत्रमा आकर्षित गरिरहेको छ। उत्पादन भएका माछा स्थानीय बजारदेखि बाहिरी जिल्लासम्म विस्तार गर्ने योजना किसानहरूले बनाएका छन्।
तर, चुनौतीहरू पनि कम छैनन्। माछा विशेषज्ञको अभाव, प्राविधिक सहयोगको कमी र प्रारम्भिक लगानीको दबाबले किसानलाई अझै संघर्ष गर्न बाध्य बनाइरहेको छ। सम्बन्धित निकायले समेत प्राविधिक सेवा विस्तार गर्न आवश्यक रहेको स्वीकार गरेको छ।
यद्यपि, कठिनाइका बाबजुद जुम्लामा माछा पालनले नयाँ सम्भावना देखाएको छ। यसले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्दै किसानलाई आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याइरहेको छ। यदि आवश्यक नीति, प्रविधि र समर्थन उपलब्ध भयो भने, जुम्ला निकट भविष्यमा ट्राउट माछा उत्पादनको प्रमुख केन्द्र बन्ने सम्भावना प्रबल देखिन्छ।