काठमाडौं, ७ वैशाख — नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को आयोजनामा १४औं राष्ट्रिय पशु तथा मत्स्य अनुसन्धान कार्यशाला ललितपुरको खुमलटार मा सुरु भएको छ।
कार्यक्रमको उद्घाटन गर्दै नार्कका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद तिम्सिना ले समयको मागअनुसार पशुपालन क्षेत्रमा आधुनिक प्रविधि अपनाउनु तथा उपलब्ध स्रोतको अधिकतम उपयोग गर्नु आवश्यक रहेको बताउनु भयो। उहाँले अनुसन्धान र प्रविधि विस्तारलाई प्रभावकारी बनाउन विभिन्न संस्थाबीच सहकार्य सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँका अनुसार परिषद्ले हाल परिणाममुखी रणनीति तथा योजना तयार गरिरहेको छ। आगामी वर्षदेखि प्रत्येक प्रदेशका कम्तीमा १० पालिकामा अनुसन्धान सहकार्य विस्तार गर्ने लक्ष्य लिइएको छ। कृषि प्रविधि अपनाउने कृषकलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी पनि उहाँले दिनुभयो। साथै, जलवायुमैत्री प्रविधि विकास, रोग नियन्त्रण तथा पशुपालनलाई उद्योगसँग जोड्ने विषयमा विशेष प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो।
यसै अवसरमा Heifer International Nepal का निर्देशक डा. केशव साह ले परिषद्सँगको सहकार्य उपलब्धिमूलक रहेको उल्लेख गर्दै संस्थाले ५० जिल्लाका करिब ५ लाख किसानसँग उद्यमशीलता विकासमा काम गरिरहेको जानकारी दिनुभयो।
त्यस्तै International Water Management Institute की निर्देशक डा. मनोहरा खड्का ले खाद्य प्रणाली सुदृढ बनाउन जलस्रोतको प्रभावकारी उपयोगमा सहकार्य गर्ने प्रतिबद्धता जनाउनु भयो।
कार्यशालामा डा. निना गोरखाली, डा. सउमेन नस्कर, डा. विष्णुराज उप्रेती र डा. द्रोणप्रकाश रसाली ले प्रमुख प्रस्तुति दिँदै पशुपन्छी अनुसन्धान, लैंगिक समावेशिता तथा नीतिगत मार्गचित्रका विषयमा धारणा राख्नु भयो।
यसैगरी प्रा. डा. नवराज देवकोटा, डा. चेतराज उप्रेती र डा. मन्जुरुल करिम ले पशु आहारा तथा दिगो मत्स्यपालनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भयो।
राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र का प्रमुख डा. कालिकाप्रसाद उपाध्याय का अनुसार कार्यशालामा सरकारी निकाय, अन्तर्राष्ट्रिय संस्था, विश्वविद्यालय तथा अनुसन्धान क्षेत्रका विज्ञहरूको उल्लेखनीय सहभागिता रहेको छ।
तीन दिनसम्म सञ्चालन हुने यस कार्यशालामा पशु तथा मत्स्य क्षेत्रसँग सम्बन्धित ६७ वटा कार्यपत्र प्रस्तुत गरिनेछन्, जसले नीतिगत तथा प्रविधिगत विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
