AgriVet Sanchar

पहिले बजार धाउने किसान:अहिले घरमै केरा व्यापारीको लाइन

पहिले गाउँका किसानहरू बिहानै डोको बोकेर बजार झर्थे । कसैले केराको घरी काँधमा बोक्थे, कसैले साइकलमा झुण्ड्याएर बजार पुर्‍याउँथे । दिनभरि पसल–पसल घुम्दा पनि कहिलेकाहीँ केरा बिक्री हुँदैनथ्यो । तर अहिले बागलुङका धेरै गाउँमा दृश्य फेरिएको छ ।

अहिले व्यापारीहरू आफैँ किसानको बारीमा पुग्छन् । केरा खोज्छन्, गन्छन् र बोटकै फेदमा नगद पैसा बुझाएर फर्किन्छन् ।

गलकोट नगरपालिका–१३ नयाँपुलका किसान लीलाधर जैसीका लागि त यो परिवर्तन सपनाजस्तै बनेको छ । केही वर्षअघिसम्म बजारको भर पर्नुपर्ने उनको केराखेती अहिले घरआँगनमै सुन फलाउने खेती बनेको छ । बिहान उठ्दा उनको बारीमा व्यापारीहरूको भीड देखिन्छ । बागलुङ बजारदेखि पर्वतको कुश्मासम्मका व्यापारी स्थानीय केराको खोजीमा दैनिकजसो यहाँ आइपुग्छन् ।

“पहिले केरा बेच्न बजार पुग्नुपर्थ्यो, अहिले व्यापारी आफैँ घर आउँछन्,” उनी मुस्कुराउँदै भन्छन्, “मूल्य पनि राम्रो पाइन्छ, दुःख पनि कम भयो ।”

भारतीय केराको आयात घटेपछि स्थानीय केराले बजारमा नयाँ ठाउँ पाएको छ । केही समयअघिसम्म दर्जनको ६०–७० रुपैयाँमा बिक्री हुने केरा अहिले १०० रुपैयाँभन्दा माथि पुग्न थालेको छ । किसानहरूका अनुसार माग बढेसँगै स्थानीय जातका केराको सम्मान पनि बढेको छ ।

बागलुङको जैमिनी नगरपालिका, कुश्मीशेरा, सर्कुवा लगायतका गाउँमा अहिले केराखेती विस्तार भइरहेको छ । पहिले वर्षामा मात्रै मकै र कोदो फल्ने बारी अहिले हरियाली केराले भरिन थालेका छन् । किसानहरूले बाँझो जमिनलाई समेत सदुपयोग गरेर केराखेतीलाई आम्दानीको मुख्य स्रोत बनाएका छन् ।

जैमिनीका किसान मोतीप्रसाद शर्मा भन्छन्, “मकै र कोदोबाट वर्षभरि मेहनत गर्दा पनि खास आम्दानी हुँदैनथ्यो । अहिले त्यही जमिनमा केरा लगाउँदा घरखर्च धान्न सजिलो भएको छ ।”

स्थानीय किसानहरूले रामरेखे, मालबोग, मुङ्ग्रे, चिनीकेरा, जहाजी जस्ता परम्परागत जातका केरा लगाउँदै आएका छन् । यी केरा स्वादिलो मात्रै होइन, लामो समय टिक्ने भएकाले व्यापारी र उपभोक्ता दुवैको रोजाइमा परेका छन् ।

बागलुङ बजारका व्यवसायीहरूका अनुसार स्थानीय केरामा कृत्रिम रूपमा पकाउने रसायन प्रयोग गर्नुपर्दैन । प्राकृतिक रूपमा पाक्ने भएकाले स्वाद र गुणस्तर दुवै राम्रो हुन्छ । यही कारण पछिल्लो समय उपभोक्ताहरू पनि स्थानीय केरातर्फ आकर्षित हुन थालेका छन् ।

व्यवसायी सागर सुवेदी भन्छन्, “स्थानीय केरा पाकेपछि पनि लामो समय टिक्छ । उपभोक्ताले स्वादिलो भन्छन्, व्यापारीलाई घाटा हुँदैन ।”

एक समय दैनिक सयौँ कार्टुन भारतीय केरा भित्रिने बागलुङ बजारमा अहिले स्थानीय केराले नै माग धान्न थालेको छ । व्यापारीहरूका अनुसार अहिले पनि माग अनुसार उत्पादन पुगेको छैन ।

स्थानीय सरकारले समेत केराखेतीलाई प्राथमिकतामा राख्न थालेको छ । जैमिनी नगरपालिकाले “शेरा जाऔँ, केरा खाऔँ” अभियान नै सुरु गरेको छ । किसानलाई बीउ, मल, सिँचाइ र बजारीकरणमा सहयोग गर्दै स्थानीय तहले केराखेतीलाई व्यावसायिक बनाउन खोजिरहेको छ ।

कृषि प्राविधिकहरूका अनुसार बागलुङको हावापानी स्थानीय केराका लागि निकै उपयुक्त छ । कम लगानीमा राम्रो उत्पादन हुने भएकाले पछिल्लो समय युवाहरू पनि केराखेतीतर्फ आकर्षित हुन थालेका छन् ।

पहिले विदेशिने सोच बनाएका धेरै युवाहरू अहिले आफ्नै गाउँको बारीमा सम्भावना देख्न थालेका छन् । पहाडका सुनसान बारीहरूमा फेरि हरियाली फर्किएको छ, र त्यो हरियालीसँगै किसानको अनुहारमा पनि मुस्कान पलाएको छ ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.