AgriVet Sanchar

गोकर्णेश्वरका तीन वडामा H5N1 बर्ड फ्लु पुष्टि:किसान र स्थानीयलाई सतर्क रहन आग्रह

काठमाडौं, जेठ १२ — काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका वडा नं. २, ३ र ४ मा हाईली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा (H5N1) अर्थात् बर्ड फ्लु संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले नियन्त्रण तथा रोकथामका लागि तीव्र कदम अघि बढाएको छ।

नगरपालिकाले जारी गरेको सूचनाअनुसार संक्रमित क्षेत्रभित्र रहेका हाँस, कुखुरा, बट्टाई, लौकाट लगायतका पन्छी, अण्डा, दाना तथा संक्रमण फैलिन सक्ने अन्य सामग्री सुरक्षित रूपमा नष्ट गर्ने, डिस्पोज गर्ने र निसंक्रमण गर्ने कार्य जारी रहेको जनाएको छ।

बर्ड फ्लु पन्छीबाट मानिसमा समेत सर्न सक्ने उच्च जोखिमयुक्त जुनोटिक रोग भएकाले संक्रमणलाई थप फैलिन नदिन नगरपालिका, पशु सेवा निकाय र सम्बन्धित सरोकारवालाहरू सक्रिय रूपमा परिचालित भएका छन्।

नगरपालिकाले स्थानीय किसान, व्यवसायी तथा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै पन्छी फार्ममा अनावश्यक व्यक्ति तथा सवारीसाधनको प्रवेश रोक्न र अत्यावश्यक परेमा पूर्ण निसंक्रमणपछि मात्र प्रवेश गराउन अनुरोध गरेको छ। साथै एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजान, प्रयोग भइसकेका अण्डाका कागजी क्रेट पुनः प्रयोग नगर्न तथा खोर प्रवेश गर्ने प्रत्येक स्थानमा चुना वा अन्य निसंक्रामक औषधिसहितको फुटबाथ अनिवार्य रूपमा प्रयोग गर्न भनिएको छ।

फार्म तथा खोरमा दैनिक रूपमा निसंक्रमण गर्ने, छुट्टै बुट र एप्रोन प्रयोग गर्ने तथा कुकुर, बिरालो, मुसा लगायत अन्य जनावरलाई फार्म परिसरमा प्रवेश गर्न नदिने व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ। मरेका पन्छीलाई सकेसम्म छिटो सुरक्षित रूपमा खाडलमा गाड्न र पन्छी फार्ममा काम गर्ने व्यक्तिले व्यक्तिगत सुरक्षाका उपाय कडाइका साथ पालना गर्न नगरपालिकाले अनुरोध गरेको छ।

यस्तै, पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्नुपर्ने तथा मासु एवं मासुजन्य परिकार राम्ररी पकाएर मात्र सेवन गर्नुपर्ने जनाइएको छ।

नगरपालिकाले अचानक धेरै संख्यामा पन्छी बिरामी परेमा वा मरेमा तुरुन्त स्थानीय तह, पशु सेवा शाखा वा सम्बन्धित पशु सेवा कार्यालयमा जानकारी गराउन पनि आग्रह गरेको छ।

प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली द्वारा जारी सूचनामा भनिएको छ, “सतर्क बनौं, बर्ड फ्लुबाट आफू, आफ्नो व्यवसाय र समुदायलाई जोगाऔं।”

बर्ड फ्लु पुष्टि भएसँगै प्रभावित क्षेत्रका किसान तथा स्थानीयवासीमा केही चिन्ता बढेको भए पनि नगरपालिका र सम्बन्धित निकायले संक्रमण नियन्त्रणमा लिन आवश्यक सबै कदम चालिरहेको जनाइएको छ।


सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.