पाल्पाको रामपुर नगरपालिकाले धान उत्पादन वृद्धि तथा कृषकलाई उन्नत बिउको पहुँच विस्तार गर्ने उद्देश्यसहित ५० प्रतिशत अनुदानमा २३ टनभन्दा बढी धानको बिउ वितरण गरेको छ।
नगरपालिकाको कृषि शाखाका अनुसार स्थानीय हावापानीमा राम्रो उत्पादन दिने तीन जातका प्रमाणित धानका बिउ कृषकको मागका आधारमा उपलब्ध गराइएको हो। यस कार्यक्रमअन्तर्गत व्यक्तिगत कृषक, कृषक समूह तथा कृषि सहकारीमार्फत कुल ५६३ लाभग्राहीलाई २३ हजार ८ सय किलोग्राम बिउ वितरण गरिएको छ।
वितरित बिउमध्ये सावित्री जातको १५ हजार किलोग्राम, साँवा मन्सुली ७ हजार ५ सय किलोग्राम र रामधान १ हजार ३ सय किलोग्राम रहेको कृषि शाखाले जनाएको छ। यी सबै बिउ बिउबिजन गुणस्तर नियन्त्रण केन्द्रबाट प्रमाणित गरिएका हुन्।
कृषकलाई सावित्री धानको बिउ प्रतिकिलो ३९ रुपैयाँ तथा रामधान र साँवा मन्सुली प्रतिकिलो ४० रुपैयाँका दरले उपलब्ध गराइएको कृषि प्राविधिक युवराज नेपालीले जानकारी दिनुभयो।
नगरपालिकाले खाद्यान्न बालीको उत्पादन बढाउने लक्ष्यसहित विगतदेखि नै अनुदान कार्यक्रममार्फत धान, मकै र गहुँका उन्नत बिउ कृषकलाई उपलब्ध गराउँदै आएको छ। स्थानीय कृषिमा आधुनिक तथा गुणस्तरीय बिउको प्रयोग बढेसँगै उत्पादन र उत्पादकत्वमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।